रुपन्देहीमा चुनाव लक्षित सुरक्षा अभियान

बुटवल, चैत १७ - वैशाख ३१ गतेका लागि तय भएकाे स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयको देशैभरि जारी सकुलरअनुसार रुपन्देही जिल्लामा पनि एक सातादेखि सुरक्षा व्यवस्थामा कडाई गरिएकाे हाे।
सीमा नाकाबाट भित्रिने सवारीसाधन तथा व्यक्तिहरूमाथि विशेष निगरानी बढाइएको छ। सुरक्षा सतर्कताका लागि चेकजाँच कार्यपनि बढाइएको छ। यसैबीच, इलाका प्रहरी कार्यालय बुटवलले पनि सालझण्डीदेखि खैरेनी क्षेत्रलाई विशेष सुरक्षा सर्तकताका लागि सुरक्षा बढाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर विभिन्न कार्यहरु थालिएको बताए। गत सातादेखि कार्यालयले बुटवलको ६ स्थानमा दैनिक रूपमा चेकिङ कार्य गरिरहेको छ।
खैरेनीमा ३, रुद्रपुर, मणिग्राम, सालझण्डी क्षेत्रमा चेकिङलाई कडा बनाइएको छ। प्रहरीले साता दिनअघि थालेको सुरक्षा योजनाअनुसार मुलत लाइसेन्स बिलबुकभन्दा पनि शरीर खानतलासी, झोला तथा सवारी साधनमा निगरानी गरेको छ।
त्यसैगरी, चुनावलाई असफल पार्न सक्ने खराव आचरणका व्यक्तिहरुको नाम टिपोर्ट कार्यलाई तीब्र पारिएको मरासिनीले बताएका छन्। त्यससँगै स्थानीयस्तरबाट चुनावमा उठ्ने सम्भावित उम्मेदवारहरुको सुरक्षाका लागि सतर्कता अपनाइएको उनले बताए।
हातहतियार ओसारपोसार, लागुपदार्थको अवैध ओसारपोसार, भन्सार छलि, पैठारी गरी सामान निकासी जस्ता कार्यहरूलाई पनि प्रहरीले सुक्ष्म ढंगले हेरिएको बताइएको छ।
'हामीले तयारी तीब्र पारेमा सम्भावित घटना रोक्ने हुँदा सुरक्षा अभियान नै सञ्चालन गरेका छौं,' प्रहरी नायव उपरीक्षक मरासिनीले भने, 'साता दिनअघि मात्र थालिएको अभियानबाट अबैध लागुपदार्थ निकासी गर्ने ३ वटा समूहहरुलाई पक्राउ गर्न सफल भएका छौं।'
प्रहरीले चुनाव अगाडि नै रुद्रपुरदेखि खैरनीसम्म चुनावी सुरक्षा, अन्य सुरक्षा संवेदनशीलताका विषयमा नागरिक प्रहरी हातेमालो कार्यक्रम सुचारु गर्ने बताएको छ।
समाजलाई भड्काउने तथा डर र धम्कीबाट सर्वसाधरणलाई अनावश्यक दुःख दिने गिरोहरुको पनि सूचना संकलन गरी सादा पोशाकका प्रहरीलाई खटाउन थालिएको उनले बताएका छन्।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलसँगको समन्वयमा संयुक्त चेकिङलाई तीब्रता दिएको छ।
0 comments