सडक विस्तारमा सरकारी कार्यालयकै अवराेध


बुटवल, चैत १९ – बुटवल बेलबास–बेथरी मार्गमा रुख व्यवस्थापन नहुँदा सडक निर्माण कार्य अवरुद्ध भएको छ। द्रूत गतिमा निर्माण कार्य भइरहेको सडक केही दिनयतादेखि निर्माण कार्य रोकिएको छ।
नहरको डिलमा रहेका रुखहरु हटाउने विषयमा सरकारी कार्यालयको बीचको विवादका कारण निर्माण कार्य अवरोध भएको हो। रुखहरु हटाउने विषयमा वन, सडक र डिभिजन सिञ्चाई कार्यालयबीच एक आपसमा विवाद उत्पन्न भएको छ।
नेपाल सरकारका तीन वटै जिम्मेवार निकायले रुख हटाउने जिम्मा एकले अर्कोको भएको भन्दै पन्छिन खोजेपछि समस्या उत्पन्न भएको हो। जसका कारण तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको सडक समयमै सम्पन्न नहुने संकेत देखिएको छ।
सडक समयमा सम्पन्न नहुने संकेत देखिएपछि स्थानीय र निर्माण कम्पनीहरुले तत्काल समस्याको समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
बेलबासदेखि बेथरीसम्मको साढे २१ किलोमिटरको सडक निर्माणका लागि बेलबासदेखि ११ किलोमिटरसम्मको  बज्रगुरु निर्माण सेवा कम्पनी र बाँकी साढे १० किलोमिटरको सडक रोमन जेजेइसिसिएल जेभी कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्यलाई अगाडि बढाएका थिए।
तर, रुखहरु हटाउने विषयमा विवाद उत्पन्न भएपछि सम्झौताअनुसार समयमै सडक सम्पन्न गर्न नसकिने निर्माण कम्पनीहरुले बताएका छन्। गत असोजदेखि सुरु भएको सडकको लागि रुखहरु नहटाई दिएकाले कामदारहरुलाई काम दिन नसकिएको इञ्जिनियर राजदेव महतोले बताएका छन्। 
नहरको डिलमा रहेका रुखहरु डिभिजन सिञ्चाई कार्यालयले हटाई दिनुपर्ने कानुनी व्यवस्था रहेको जिल्ला वन कार्यालयका प्रमुख रोमराज लामिछानेले बताएका छन्। डिभिजन सिञ्चाई कार्यालयका इञ्जिनियर अक्षरगोपाल श्रेष्ठले उक्त नहर सिञ्चाई कार्यालयमा दर्ता नभएकाले कार्यालयले रुख हटाउन नरोकेको बताएका छन्।
डिभिजन सडक कार्यालय बुटवलका डिभिजन इञ्जिनियर मेघराज मरासिनीले सिञ्चाई कार्यालयको नाममा उक्त नहर रहेको देखिएकाले समस्या समाधानका लागि सिञ्चाई कार्यालयलाई पत्राचार गरिएको बताएका छन्।
सरोकारवाला कार्यालयहरु, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको रोहवरमा छिट्टै बैठक बसेर समस्या समाधान गरिने मरासिनीले बनाएका छन्। सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने र दुवै साइडबाट सडक निर्माण हुन लागेकाले यो सडकलाई नेपालकै नमुना सडकको रुपमा लिइएको छ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.