बुद्धको जन्मस्थल फोहोरले हेरिनसक्नु


बुटवल, चैत १६ - बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोआज फोहोर बढेको छ। लुम्बिनी आउने पर्यटकहरू फोहोर देखेपछि नाक थुन्दै भ्रमण गर्न बाध्य भएका छन्।
लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत विभिन्न संघ–संस्थाहरूको बेवास्ताका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा फोहोर बढेको हो। लुम्बिनी क्षेत्रका लागि वर्षेनी सरसफाइको नाममा लाखाैं रुपैयाँ खर्च हुने गरे पनि सफाइ भने हुन सकेको छैन।
विकास कोषकै कम्पाउण्डभित्र लामो समयदेखि फोहोर थुप्रिएको भए पनि त्यसको व्यवस्थापनमा लुम्बिनी विकास कोषले चासो दिएको छैन। भएको फोहोर नफाल्ने तथा फोहोर फाल्नकै लागि ल्याइएको ट्रिपरका चालक समेत खोज्न नसक्दा अहिले ट्रिपर समेत थन्किएर बसेको छ।
अझ गज्जबको कुरा त के छ भने लुम्बिनी परिसरमा भैंसी काटे को फोहोर समेत फाल्ने गरिएको छ। जसका कारण दुर्गन्द फैलिएको स्थानीय भीक्षु विवेकानन्दले बताएका छन्।
 
लुम्बिनी बसपार्क, वनभोजस्थल लगायत विभिन्न ठाँउमा जताततै फोहोर थुप्रिएको लामो समय हुँदा समेत सफाइ गरिएको छैन। महिलवार, पडरिया र पर्सा चोकको सरसफाइ गरिए पनि होटल व्यवसायीहरुले लुम्बिनी मूलगेटकै उत्तर र दक्षिणपट्टि लुम्बिनी विकास कोषको सुरक्षा पर्खाल नजिकै फोहारको डंगुर नै थुपारेका छन्।
नगरपालिकाले अटेर गर्दा लुम्बिनी आपासको क्षेत्र सफाइ हुन नसकेको राप्रपाका नगर प्रतिनिधि विनौद गौडले बताए। लुम्बिनी सांस्कृतिक नगरपालिकाले ११ लाख रुपैयाँ सरसफाइ तथा खुल्ला दिशामुक्त बनाउने अभियानमा खर्चिएको छ।
लुम्बिनी विकास क्षेत्रभित्रको सरसफाइ लुम्बिनी विकास कोषको दायित्व भएको भन्दै त्यसबाहेक वरिपरि ग्रामीण क्षेत्रको सरसफाइ लुम्बिनी नगरपालिकाको दायित्व भएको लुम्बिनी विकास कोष उद्यान अधिकृत सब्बिर अहमद मुसलमानले बताएका छन्।
कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले लुम्बिनी क्षेत्रको सफाइमा सबैले ध्यान नदिएसम्म फोहोर नहट्ने बताए। उनले यस बारेमा अब छिट्टै निर्णय गरिने समेत बताएका छन्।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.