गाउँपालिकामा कुर्चीसम्म छैन

बुटवल, वैशाख ११ - पुनर्संरचना अनुसार घोषित नगरपालिका तथा गाउँपालिमा कार्यालय व्यवस्थापन चुनौती बनेको छ।
भौतिक संरचनाको अभावमा काम चलाउदै आएका नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि आउने जनप्रतिनिधिका लागि आवश्यक कार्यालय व्यवस्थापन कसी गर्ने भन्ने झनै अप्ठ्यारो भएको छ।
रुन्देहीमा नयाँ घोषणा भएका ४ नगारपालिकामध्ये तिलोत्तमा नगरपालिकामा भौतिक अभाव छ। सैनामैना, देवदह र लुम्बिनी सांंस्कृतिक नगरपालिकामा कार्यालय निर्माणको काम सुरु भएपनि तिलोत्तमा नगरपालिकाको कार्यालय कहाँ बनाउने भन्ने समेत टुंगो लागेको छैन।
राजनीतिक दलको आपसी विवादले नगरपालिकाको भवन बन्न नसकेको तिलोत्तमा नगरपालिकाका निमित्त प्रमुख राजेन्द्र आचार्यले बताए।
नगरपालिका घोषणा भई कार्य प्रारम्भ गरेको ३ बर्ष पुगिसक्दा समेत कार्यालय भवन कहाँ बनाउने भन्ने टुंगो नलाग्दा सेवाग्राहीले पाउने सेवा समेत प्रभावकारी हुन सकेको छैन।
सर्वसाधारणलाई सरल र सहज रुपमा सेवा दिने नया व्यवस्था अनुसारको अधिकार सम्पन्न स्थानीय तहको कार्यालय नै व्यवस्थापन नहुँदा सेवाप्रवाहमा समस्या आएको छ। भवन कहाँ बनाउने भन्ने विषयमै सहमति जुट्न नसक्दा आसन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई भाडाको घरमा पदवहाली गर्नुपर्ने बाध्यता रहेको छ।
तिलोत्तमा वडा नम्वर ६ को कुञ्जलापुर र वडानम्वर ७ को केउलेनीमध्ये नगरपालिका भवन कहाँ बनाउने भन्नेमा दलहरुबीच तीव्र मतभेद हुँदा बजेट समेत हरेक वर्ष फ्रिज हुँदै गएको छ।
१७ वडामध्ये नगरपालिकाले अहिले ७ वटा वडामा संयुक्त कार्यालय स्थापना गरेको छ। नगरपालिकाका निमित्त प्रमुख आचार्यले निर्वाचन अगाडि नै कार्यालय व्यवस्थापनबारे नसोचेको बताउँछन्।
0 comments