रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

बुटवल, वैशाख २- केही वर्षयता रुपन्देही जिल्लामा निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन्। अहिले भइरहेका डेरी उद्योगले हालसम्म १५ करोड रुपैयाँ लगानी गरिसकेको डेरी उद्योगीहरूले बताएका छन्।
डेरी उद्योगहरूले लगानी बढाएसँगै आधुनिक प्रविधियुक्त मेसिनको जडान र जनशक्ति समेत बढाउँदै लगेका छन्। जिल्लामा प्रशोधित प्लानेट डेरी उद्योगको रुपमा पवित्रा डेरी उद्योग, लुम्बिनी डेरी उद्योग, गायत्री डेरी उद्योग शिवगंगा डेरी उद्योगहरू सञ्चालनमा रहेका छन्। त्यस्तै, रुपन्देही डेरी व्यवसायी संघमा २ सय २५ डेरीहरू आबद्ध भए पनि जिल्लामा करिब ३ सय ५० भन्दा बढी डेरी उद्योग रहेको बताइन्छ।
उक्त डेरी उद्योगमा ३ देखि ५ लाखसम्म लगानी रहेको रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशसिंह भण्डारी (अमृत) ले बताए। प्रशोधित उद्योग एवम् प्लानेट यी उद्योगहरूले प्याकेजिङ दुध समेत बिक्री वितरण गर्दै आइरहेका छन्।
उक्त उद्योगबाट जिल्लामा ५ देखि ७ हजार लिटर दुध खपत हुँदै आएको र दैनिक ५० हजार लिटर दुध बाहिर पठाउने गरेको नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारीले बताए। रुपन्देहीबाट काठमाडौं, पोखरा, हेटौडा, चितवन लगाएका जिल्लाहरूमा दुध निर्यात हुँदै आएको उनको भनाइ छ।
यहाँ रहेका उद्योगहरूले दुध, दही, घ्यू, पनिर, नौनी, क्रिम उत्पादन गर्दै आइरहेका छन्। रुपन्देही जिल्ला दुधमा आत्मनिर्भर भए पनि किसानको दुधलाई प्रोत्साहन नगर्नेहरूले लुकिछिपी भारतबाट पाउडर दुध आयात गर्ने गरेको रुपन्देही डेरी व्यवसायी संघले जनाएको छ। नेपालमा हाल साना, मझौला र ठूला गरी एक हजार भन्दा बढीको संख्यामा निजी डेरी उद्योग रहेको बताइन्छ।
एसोसिएसनमा अहिले साढे ३ सय सदस्य रहेको र उक्त उद्योगहरुमा १० अर्ब भन्दा बढी लगानी भइसकेको बताइएको छ। हाल नेपालमा दैनिक ४६ लाख ६० हजार लिटर दुध उत्पादन हुने बताइन्छ। केही वर्षयता दुध उत्पादनमा ३ दशमलव २२ प्रतिशत वृद्धि भएको भण्डारीले जानकारी दिए। मुलुकमा ४ लाख ५० हजार परिवार प्रत्यक्ष रूपमा दुग्ध उत्पादनमा संलग्न रहेको र उद्योग स्तरमा २० हजारले रोजगारी पाएको भण्डारीको भनाइ छ ।
0 comments