यी हुन् बुटवल उप-महानगरपालिकामा मेयरका आकांक्षी

बुटवल, वैशाख ३- स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित प्रदेश नं. ५ को केन्द्र बुटवल उप–महानगरपालिकामा पनि चुनावी रौनक बढेको छ। विभिन्न पार्टी कार्यालयमा चुनावी चिया गफ भइरहेका छन् भने वडा तहबाट सिफारिस गरिएका उम्मेदवारहरूको नाममा कार्यकर्ताहरूले असन्तुष्टि समेत व्यक्त गर्न थालेका छन्। प्रमुख राजनितीक दल नेकपा एमाले, नेपाली कांगे्रस र माओवादी केन्द्रले वडा तहका उम्मेदवारहरूको नाम सिफारिस अन्तिम चरणमा पुर्याएको भए पनि मेयरका लागि भने चर्चा मात्रै चुलिएको छ।
बुटवल उप–महानगरपालिकामा १४ वटा पार्टी अस्तित्वमा रहेका छन्। १ लाख ३८ हजार ७ सय ४२ जनसंख्या रहेको बुटवल उपमहानगरमा १ सय ३ दशमलव ९८ वर्ग किलोमिटरमा फैलिएको छ। रुपन्देहीमा २ सय ६ मतदातास्थल र साढे ४ लाख मतदाता रहेका छन्। रुपन्देहीमा १६ स्थानीय तह छन्।
बुटवल उप–महानगरपालिका (एक उप–महानगरपालिका),सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका गरी (पाँच नगरपालिका) र दस गाउँपालिका छन्। बुटवल उप–महानगरपालिकामा २०४९ मा कांग्रेसका सूर्यप्रसाद प्रधान र २०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठले मेयर जितेका थिए। प्रदेश नं. ५ विरुद्धको आन्दोलनमा बुटवलको सहभागिता देहेर एमाले मेहर जित्नेमा ढुक्क देखिन्छ भने नेपाली कांग्रेस ०४९ साललाई दोहोर्याउन चाहन्छ।
एमालेतर्फबाट यी हुन्
एमालेका तर्फबाट मेयरको चर्चामा जिल्ला अध्यक्ष शिव सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, कमल गौतम, राजु गुरुङ लगाएको नाम रहेको छ। तर, बलियो उम्मेदवारको रुपमा गोपाल राना र बाबुराम भट्टराईलाई लिइएको छ। बुटवलको लुम्बिनी अञ्चल अस्पतालका पूर्वअध्यक्ष समेत रहेका बाबुराम भट्टराई केन्द्रीय स्वास्थ्य विभागका सदस्य पनि हुन्। उनको अहिले औषधि व्यवसाय छ।
त्यस्तै, अर्का जिल्ला कमिटीका सहसचिव गोपाल रानाको पनि मेहरमा चर्चा रहेको छ। रुपन्देहीको मणिग्राममा ड्रिमल्याण्ड गोल्ड रिर्साेट सञ्चालन गरेका उनी जनजाति भएकाले चुनावमा जान सजिलो हुने बताउँछन्। युवा पुस्ताका राना निर्माण व्यवसायी पनि हुन्।
मजदुर नेता कमल गौतमको पनि मेयरमा आकांक्षा देखिएको छ। त्यस्तै युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङको नाम पनि चर्चामा छ। एमाले रुपन्देहीका अध्यक्षका उम्मेदवार समेत भएका गुरुङलाई मेयर दिने बहानामा सहमति गरेर फिर्ता गराइएको समाचार स्रोत बताउँछ। युवामाझमा निकै लोकप्रिय राजु गुरुङलाई बुटवलमा मेयर उठ्ने सम्भावना बढेपछि पार्टीकै नेताको ठाडो निर्देशनमा एमालेले भर्खरै कारबाही समेत गरेको थियो। उनी माधव नेपाल पक्षधर हुन्। वरिष्ठ पत्रकार बालकृष्ण चापागार्इंले बुटवलको मेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
त्यस्तै महिलातर्फ सावित्रा अर्याल, विमला पन्थी, गोमा आचार्य लगायतको नाम चर्चामा छ। त्यसमध्ये गोमा आचार्य बलियो उम्मेदावर रहेको एमाले स्थानीय कार्यकर्ता बताउँछन्।
कांग्रेस बाट को–को?
कांग्रेसको तर्फबाट खेलराज पाण्डे, महेशमान सिंह, युवराज गिरी लगाएको नाम चर्चामा छ।
२०४२ सालबाट राजनीतिमा होमिएका खेलराज पाण्डेलाई कांग्रेसले बलियो उम्मेदावरको रुपमा लिएको छ। उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको उपाध्यक्ष भए। २०५२ मा नेविसंघको जिल्ला सचिव हुँदै २०५८ मा तरुण दलको जिल्ला सचिव बने। २०५९ देखि २०६४ सम्म तरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भएका खेलराज दुईपटक बुटवल उप–महानगरमा सभापति निर्वाचित भइसकेका छन्। अर्का दाबेदार हुन् युवराज गिरी, महासमिति सदस्य गिरी वर्तमान रक्षारन्त्री बालकृष्ण खाँणका सहयात्री पनि हुन्। ०३५ सालदेखि राजनीतिमा होमिएका गिरीले सबैभन्दा पहिले भवानी माविबाट नेविसंघको नेतृत्व गरेका थिए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष रहेका महेशमान सिंह पनि मेहरको आकांक्षी देखिएका छन। उनलाई रक्षामन्त्री बालकृष्ण खाँणको साथ र समर्थन रहँदै आएको छ। सरल स्वभावका सिंह बुटवलका स्थापित उद्यमी व्यवसायी र नेतृत्व क्षमता भएका व्यक्ति हुन्। त्यस्तै, महिलातर्फ बिना गुरुङ, रिजन श्रेष्ठ र बालकुमारी भण्डारीले आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन्।
माओवादीबाट को–को?
माओवादी केन्द्रबाट केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे, अर्का केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर–४, का सह–इन्चार्ज हरि घिमिरेको नाम चर्चामा छ। त्यस्तै, पूर्वसांसद समेत रहेका अर्का उम्मेदवार विनोद पहारीको नाम चर्चामा छ।
माओवादी–कांग्रेस मिल्ने सम्भावना
सत्तारुढ दल नेपाली कांग्रेस माओवादी केन्द्र बुटवलको मेयरलाई प्रतिष्ठाको विषय बनाएर एमालेको ०५४ सालमा पाएको नेतृत्व जसरी पनि हत्याउने दाउमा छन्। समाचार स्रोतका अनुसार माओवादी केन्द्रलाई बुटवल उप–महानगरपालिकामा मेयर दिएर अन्य नगरपालिका र गाउपालिकामा मेहर कांग्रेस र उपमेहर माओवादीलाई दिन सक्ने सम्भावना रहेको बताइन्छ।
त्यस्तै, राप्रपाबाट पूर्वमेयर पुनाराम पोखरेल, रुपसिंह थापाको नाम चर्चामा रहेको छ।
0 comments