गर्मी सुरू भएपछि बुटवलमा खानेपानीकाे हाहाकार
बुटवल, चैत ३१ – गर्मीयामसँगै बुटवलबासीलाई खानेपानीकै चिन्ता सुरु भएको छ। आवश्यकता अनुसारको पानी आपूर्ति नभएपछि बुटवलबासीको दैनिकी अत्यन्तै कष्टकर भएको हो।
सर्वसाधारणलाई गर्मी समयमा पानीको समस्याले झनै आक्रान्त पारेको छ। विशेषगरी, बुटवलका सुख्खानगर, दीपनगर क्षेत्रमा बढी पानीको अभाव हुने गरको छ। सुख्खा नगरका काशीराम पण्डितले दुई घण्टा मात्रै पानी आउने भएकाले समस्या सुरु भइसकेको बताएका छन्।
बुटवल उपमहानगरपालिका चार वर्षदेखि देशकै उत्कृष्ट बने पनि पानीको अभावबाट मुक्त हुन सकेको छैन। बुटवलको खानेपानी समस्या समाधान गर्न २०४६ सालमा खानेपानी संस्थान आएको थियो।
दैनिक साढे तीन करोड लिटर पानी चाहिने बुटवललाई संस्थानले साढे दुई करोड लिटर मात्रै पानी दिइरहेको छ। त्यो पनि तिनाउको धमिलो पानी हो। ७० लाख लिटर मात्रै ११ वटा ट्युबेलबाट दिइएको छ।
अहिले लोडसेडिङको कमी र ट्युबेल थप हुँदा दैनिक करिब ५० लाख लिटर पानी थप भएको छ। खानेपानी संस्थान कार्यालय बुटवल शाखाका सूचना अधिकारी अजयकुमार साहका अनुसार हाल बुटवलको सहरी क्षेत्रमा १५ हजार धारा रहेका छन्।
वि.सं. २०५३ सालमा ४ करोड रुपैयाँ लागतको सिस्ने खोला खानेपानी योजना सञ्चालनमा आएको थियो। तर, यो आयोजना अलपत्र परेको छ। त्यसलाई रुपान्तरण गरी झुम्सा खोला खानेपानी आयोजना बनाइयो। अहिले बुटवल खानेपानी योजना नामाकरण गरिएको छ।
बुटवलवासीलाई दैनिक ८० लाखदेखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार सुरु भएको उक्त खानेपानी आयोजनाको मुहानदेखि करिब ३ हजार ३ सय मिटर पाइप २० इञ्चको र त्यसपछि ५ किलोमिटर झुम्सा खोला पुलसम्म १० इञ्चको पाइप बिछ्याइएको छ।
चालू आर्थिक वर्षबाट सुरु भएको यो आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेमा करिब ३ वर्ष लाग्ने योजना प्रमुख डा. भूपेन्द्र प्रसादले बताएका छन्। आयोजनाको ८ महिना बितिसक्दा करिब २० प्रतिशत मात्र कार्य सम्पन्न भएको छ। यस पश्चात दैनिक रुपमा ३ करोड २० लाख लिटर पानी दैनिक रुपमा बुटवलमा आउने उनले जानकारी दिए।
नेपाल खानेपानी संस्थान बुटवलका अनुसार पाल्पाको झुम्सा खोलाबाट ल्याएको खानेपानी पहिलो चरणमा बुटवलमा मात्र प्रयोग हुनेछ। अहिले खानेपानीको समस्या झेलिरहेका खासगरी बुटवलको सुख्खानगर, दीपनगर, देवीनगर लगायतका क्षेत्रमा पहिलो प्राथमिकताको आधारमा खानेपानी वितरण हुने बताइएको छ।
अहिले दैनिक २ घण्टा खानेपानी वितरण गर्ने गरेकोमा उक्त खानेपानी आयोजना पूरा भएपछि थप २ घण्टा उपभोक्तालाई खानेपानी वितरण गरिने छ। अहिले तिनाउ खोलाको पानी १ करोढ ८० लाख लिटर उत्पादन भइरहेको छ।
बुटवल उपमहानगरपालिका भित्र रहेका १४ वटा ट्युबेलबाट करिब ७० लाख लिटर पानी उत्पादन भइरहेको खानेपानी संस्थान बुटवलका कार्यलय प्रमुख मोहनदत्त भट्टले जानकारी दिएका छन्।

0 comments