मापदण्ड विपरीतका मासु पसललाई कारवाहीको तयारी

विकाश पराजुली


बुटवल, जेठ १ । जिल्लामा सञ्चालनमा आएका मासु पसलहरुले सामान्य मापदण्ड पनि पालना नगरेको भन्दै जिल्ला पशु सेवा कार्यालयले तथ्यांक संकलन गरी कारबाहीको तयारी सुरु गरेको छ ।
केही मासु पसलहरु व्यवस्थित भएपनि अधिकांश मासु पसलहरुले उपभोक्तालाई गुणस्तर मासु विक्री वितरण नगरेको भन्दै कार्यालयले उपभोक्ता झुक्काउने मासु पसललाई कारबाही गर्न लागेको हो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। लक्ष्मण ढकालले मासु पसलहरु अझै पनि नसुध्रिएकाले उनीहरुको तथ्यांक संकलन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए । चोक–चोकमा स–साना टहरा निर्माण गरी खोलिएका पसलबाट उपभोक्ताले स्वच्छ, गुणस्तरीय मासु खान नपाएको जनगुनासो बढेपछि कार्यालयले अनुगमन गर्ने भएको हो । यस क्षेत्रका धेरै पसलहरुले खुल्ला रुपमा खसी, कुखुरा, रा“गा, बंगुर र माछाको अस्वस्थ मासु बिक्री गर्दै आएका छन् । 
उपभोक्ताको भान्सामा सिधै पुग्ने मासुलाई व्यवसायीहरुले हेलचक्राई गरी गुणस्तरहीन मासु विक्री वितरण गर्दै आएका छन् । कालिकानगर, देवीनगर, मिलनचोक, बसपार्क, गोलपार्क लगायतका क्षेत्रमा टंकी पसल खोली ढक र तराजु मात्र राखेर मासु बेच्ने गरेको प्रशस्त देखिन्छ । 

मासु पसलमा प्रयाप्त क्षेत्रफल राख्नुपर्ने, पसलमा सजिलै सफा गर्न मिल्ने सेतो टायल लगाउनु पर्ने, निकास तथा फोहर व्यवस्थापनको उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताको अलग्गै पोशाकको व्यवस्थाको साथै पोशाक फेर्ने स्थान अलग्गै हुनुपर्ने, बिक्री गर्न राखेको मासु झुण्डाउन स्टीलको हुकको व्यवस्था हुनुपर्ने नियम छ । तर पनि व्यवसायीहरुले सानो टंक निर्माण गरी तराजु र काट्ने हतियार मात्र राखी व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यस्तै विक्री कक्षमा चिस्यानको लागि डिफ्रिजको व्यवस्था हुनुपर्ने, औजारहरु खिया नलागेको हुनुपर्ने, सफा र फोहर नजम्ने खालको अचानोको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्डहरु रहेको कार्यालयका प्रमुख ढकालको भनाई छ ।  यी सबै मापदण्ड पुरा भएका मासु पसल यस क्षेत्रमा भेट्टाउन भने मुस्किल रहेको छ । पशु बधशाला र मासु जा“च ऐन २०५५ का अनुसार पशुलाई तोकिएको बधशालामा मात्रै बध गर्नुपर्ने, कुनै पनि पशुलाई बध गर्नु अघि स्वास्थ्य जाच गर्नुपर्ने, मासु बिक्रेताले गुणस्तरीय मासु मात्र बिक्री गर्नु पर्ने, रोग लागेका पशुको मासु बिक्री गर्न नपाइने, सरसफाईमा ध्यान दिनुपर्ने, पसल दर्ता गराएर मात्र सञ्चालन गर्नु पर्नेलगायतका बु“दाहरु उल्लेख गरिएको छ । जाच गरिएको पशु बध गर्न उपयुक्त देखिएमा मासु निरीक्षकले चिन्ह समेत अंकित गरी त्यस्तो पशु बध गर्ने अनुमति दिने समेत ऐनमा लेखिएको छ । मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले आफुहरुले दर्ता विना तथा सामान्य मापदण्ड पालना नगर्ने व्यवसायलाई कारबाही गर्ने बताएका छन् । बुटवल नगरपालिका र जिल्ला पशु सेवा कार्यालय संग समन्वयन गरी अनुगमन गरेर मात्र व्यवसायीहरुलाई कारबाही गरिने उनको भनाई छ । उनले यस क्षेत्रका कयौ व्यवसायीहरुले सामान्य मापदण्ड पनि पालना नगरेको स्वीकार गरे ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.