लुम्बिनीमा टिक्दैनन् पर्यटक

बुटवल, वैशाख १०- बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गए पनि पर्यटकको बसाइ भने लम्बिन सकेको छैन।
लुम्बिनी आउने पर्यटकको बसाइ लामो नहुँदा पर्यटन व्यवसायमा लक्ष्य अनुरुप फाइदा हुन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन्। लुम्बिनी आउने पर्यटक बढीमा ४५ मिनेट मात्रै लुम्बिनी बस्ने गरेको प्रारम्भिक अध्ययन छ।
भारतीय टुरगाइडका साथ स्थलमार्ग हुँदै आउने पर्यटकहरु लुम्बिनीमा धेरै समय नबस्ने गरेका हुन्। हवाई मार्गबाट आउने पर्यटकहरूले भने कम्तीमा एक रात भए पनि लुम्बिनीमा बिताउने गरेका छन्।
पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले पर्यटकहरूलाई भुलाउने खालको सांस्कृतिक कार्यक्रमहरू लुम्बिनीमा नियमित रुपमा गर्नुपर्ने बताए।
लुम्बिनी विकास कोषले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तिलौराकोट पुर्याउने योजना बनाएको थियो। तर, प्रभावकारी काम हुन नसकेपछि अहिले लुम्बिनी आउने पर्यटकमध्ये बढीमा १५ प्रतिशत मात्रै तिलौराकोट पुग्ने गरेका छन्। लुम्बिनीमा तेस्रो मुलुक र भारतबाट आउने पर्यटकको संख्या बृद्धि भएको छ।
पछिल्लो तीन महिनामा मात्रै ६० हजार ४ सय ७५ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्। यो संख्या गएको वर्ष यही समयको तीन महिनामा आएका पर्यटकको संख्या भन्दा १२ हजारले बढी हो। गएको वर्ष बन्द र मधेस आन्दोलनका कारण पर्यटकको संख्यामा कमी आएको थियो। सन् २०१६ मा मात्रै लुम्बिनीमा तेस्रो मुलुकका १ लाख ३६ हजार पर्यटक लुम्बिनी आएका थिए। तीमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक रहेका छन्। गएको वर्ष भारतीय पर्यटकको संख्या १ लाख ३४ हजार बढी पर्यटक लुम्बिनी आएका थिए।
आन्तरिक पर्यटकको संख्या १० लाख १५ हजार रहेका छ। संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनी गुरुयोजनासँगै लुम्बिनी अञ्चलकै विकास हुन नसक्दा पर्यटकहरुले लुम्बिनीमा धेरै समय बिताउन नचाहेको बताइन्।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य पर्यटकलाई आगमन बढाउन र धेरै समय बिताउने गरी बसाइको व्यवस्था गर्न कोषले काम गरिरहेको बताइन्।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.