लुम्बिनी अञ्चलको नक्सा बेवारिसे

बुटवल, वैशाख ११ - बुटवलमा राखिएको लुम्बिनी अञ्चलको नक्सा संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ।
ठूलो महत्व र विशेषता बोकेको नक्साको संरक्षणमा कसैको ध्यान जान सकेको छैन। तत्कालिन पञ्चायत कालमा बुटवलमा रहेको लुम्बिनी अञ्चलाधीशको कार्यालयले स्थापना गरेको नक्साको संरक्षण हुन सकेको छैन।
२०३१ सालमा अञ्चलाधीशको कार्यालय स्थापना भएपछि लुम्बिनी अञ्चलका सबै जिल्लाका भूगोलको नक्सा बनाइएको थियो। तर, अहिले संरक्षणको अभावमा बेवारिस बन्दै गएका छन्।
तत्कालिन राजा महेन्द्र शाह पूर्वपश्चिम देश दौडाहामा निस्किएका बेला लुम्बिनी अञ्चलका जिल्लाको समीक्षा गर्न नक्सा बनाइएको बताइन्छ।
तत्कालिन राजा महेन्द्र शाह पूर्वपश्चिम देश दौडाहामा निस्किएका बेला लुम्बिनी अञ्चलका जिल्लाको समीक्षा गर्न नक्सा बनाइएको बताइन्छ।
लुम्बिनी अञ्चलाधीशको कार्यालयको समीक्षा भवनमा लु्म्बिनीको नक्सा स्थापना गराइएको थियो । जुन अहिलेको उच्च अदालत वार एशोसिएसन बुटवल कार्यालय अगाडि लुम्बिनी अञ्चलको नक्सा बेवारिसे अवस्थामा रहेको छ।
बुटवलको ३ र ४ नम्बर वडामा पर्ने ओमशान्ति मार्ग हुँदै रुपन्देही व्यापार संघदेखि जेसीज चौकसम्म सडक विस्तार गर्ने क्रममा नक्सा झनै बेवारिसे जस्तै बनेको छ।
बुटवल उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा नक्साले ओगटेको जमिन मासिन लागेको स्थानीयले बताएका छन्।
बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले लुम्बिनी अञ्चलको नक्सालाई संरक्षण गरी सडक विस्तार गरिने बताए।
लुम्बिनीका ६ जिल्लाको समीक्षा गर्ने उद्देश्यले नक्सा बनाई राखिएको बुटवल नगरपालिकाका पूर्वउपमेयर बिमलबहादुर शाक्यले बताए।
नक्सामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीका सदरमुकाम, गाविस र वडासमेत छुट्टाइएको छ।
0 comments