बेथितिको हद, सडक नै बसपार्क


बुटवल, चैत ४ - बुटवलका केही स्थानमा सार्वजनिक सडकलाई बसपार्कको रुपमा प्रयोग गरिएको भए पनि त्यसको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन।
नियमतः सडकमा बसपार्क गराउन नपाइने नियम भए पनि रुपन्देही जिल्लाका केही स्थानमा भने सडकलाई नै बसपार्कको रुपमा विकास गरिएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बेलहियादेखि कास्की जिल्लाको पोखरासम्म पुग्ने सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवलमा मात्र दुई स्थानमा बसपार्क रहेका छन्।
बुटवल उपमहानगरपालिका–६ मा रहेको पाल्पा बसपार्क यसको एक उदाहरण हो। पहिला भानु पार्कको रुपमा रहेको उक्त स्थानलाई अहिले पाल्पा बसपार्कको रुपमा चिनिन्छ। जुन स्थानको मुख्य सडकमा नै वर्षौंदेखि साना–ठूला गाडी यात्रु कुरेर बसेका हुन्छन्। सो बसपार्कमा न्यूनतम् पाँच वटा गाडीको लावालस्कर लागेको जहिले पनि देख्न सकिन्छ।  
अन्य स्थानमा यात्रु ओराल्ने र चढाउने गरिए पनि उक्त स्थानमा यात्रुको लागि टिकट काउन्टर नै स्थापना गरिएको छ। पाल्पा जिल्लाका विभिन्न स्थान, स्याङ्जा जिल्लाका विभिन्न स्थानका साथै बाग्लुङ, पर्वत र कास्की जिल्लाको लागि उक्त स्थानबाट यात्रुले टिकट काटेर जाने गर्छन्। खासगरी पाल्पा जिल्लाको सदरमुकाम तानेसनको लागि प्रत्येक आधा–आधा घण्टामा त्यहाँबाट बस छुट्ने गर्दछन्।
ऐन नियम विपरीत कुनै पनि राजमार्गमा अवरोध पुर्याउन पाइँदैन, सडक संरचना मिचेर बनाइएका भौतिक संरचनाहरु सरकारले भत्काउदै गर्दा सडकमै रहेको बसपार्कतर्फ भने ध्यान दिएको छैन। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख कृष्णहरि शर्माले सडकमा रहेको बसपार्कलाई व्यवस्थापनका लागि पहल थालिने बताए।
कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले सार्वजनिक सडकमा कुनै पनि देशमा बसपार्क नभएको भन्दै त्यसलाई जसरी पनि हटाई छाड्ने सार्वजनिक कार्यक्रममा समेत भन्ने गरेको भए पनि अहिलेसम्म व्यवस्थापन भएको छैन।
यता बुटवल उप–महानगरपालिकाका निमित्त प्रमुख विष्णु खनालले सडकमा रहेका बसपार्कका लागि व्यवस्थापन गर्ने पहल गरिएको भए पनि विभिन्न समस्या उत्पन्न भएपछि रोकिएको बताए। उनले रुपन्देही व्यापार संघ र तल्लो सिद्धबाबा क्षेत्रमा व्यवस्थापन गर्ने योजना बनाए पनि सिद्धबाबामा बटालिएन गार्डेनको रुपमा विकास गरिएको र व्यापार संघ आसपासमा सरकारी कार्यालयलाई बाधा पुग्ने भएपछि सो योजना रोकिएको बताए। अहिले तत्कालका लागि सडक बसपार्कको व्यवस्थापनको कुनै पनि योजना नरहेको उनको भनाइ छ।
पाल्पा बसपार्कसँगै बुटवलको पुरानो बसपार्क सडक पनि अहिले बसपार्कको रुपमा प्रयोग गरिएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणघाट सडक खण्डमा पर्ने पुरानो बसपार्क अगाडिबाट रुपन्देहीका विभिन्न पश्चिमी क्षेत्रमा बस छुट्ने गर्छन्।
पश्चिम क्षेत्रका खासगरी फर्साटिकर, अमुवा, मानपकडी, सुर्यपुरा जाने र कपिलवस्तु जिल्लाको बैरहिया, ४ नम्बर जितपुर जाने गाडी त्यहाँबाट मात्रै छुट्छन्। जसलाई यातायात व्यवसायीहरूले मिनी बसपार्कको रुपमा प्रयोग गरेका छन्।
राजमार्गको सडक प्रयोग गरेर पश्चिम नेपाल बस व्यवसायी संघ र बुटवल यातायात व्यवसायीले आफ्नो यातायाताका साधनहरु पार्किङ गर्ने र बसपार्कको रुपमा प्रयोग गर्दा समेत स्थानीय निकाय बेखबर बनेको छ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.