अञ्चल अस्पतालको फार्मेसी उद्घाटन भयो, सञ्चालन भएन


बुटवल, चैत १४ - यस क्षेत्रकै जेठो लुम्बिनी अञ्चल अस्पतालले सञ्चालन गर्ने भनेको आफ्नै फार्मेसी उद्घाटन भएको एक महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। फागुन १५ गते नेपाल सरकारका रक्षामन्त्री बालकृष्ण खाँडले अस्पतालको फार्मेसी उद्घाटन गरेका थिए।
सरकारले नै अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गर्न बारम्बार अनुरोध गरे पनि अस्पतालले बेवास्ता गर्दै अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन।
सरकारले अस्पतालमा आफ्नै फार्मेसी बनाउन निर्देशन दिनुअगावै अस्पतालले चार वर्षका लागि जनप्रिय फार्मेसीलाई मासिक १३ लाख १७ हजार ७ सय १७ रुपैयाँमा सम्झौता गरेकाले अहिले तत्काल उक्त फार्मेसीलाई हटाउन नसकिने अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए।
अस्पतालकै कम्पाउण्डभित्र दुई फार्मेसी सञ्चालन हुँदा अस्पतालको फार्मेसी सञ्चालन नै नहुने सम्भावना बढेको छ। सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जनप्रिय फार्मेसीले दिने औषधि डिलरबाट प्राप्त २० प्रतिशत छुटलाई आफूहरूले १५ प्रतिशत छुटमा औषधि बिरामीहरूलाई बिक्री गर्ने हुँदा जनप्रिय फार्मेसी रहदा पनि केही नहुने दाबी गरे।
फार्मेसी उद्घाटन हुँदा जनसक्ति कमी भएको र औषधि खरिद ऐन अनुसार औषधि खरिदका लागि टेण्डर गर्नुपर्ने भएकाले फार्मेसी सञ्चालनमा ढिलाई भएको सूचना अधिकृत रेग्मीले बताए।
अहिले अस्पतालले फार्मेसीका लागि टेण्डर गरिसकेको भए पनि सञ्चालन भने अनिश्चित भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. राजेन्द्र सञ्जेल क्षेत्रीले बताए। सुरुमा आफैंले केही औषधि खरिद गरेर सञ्चालन गर्ने भने पनि नीतिले त्यसो गर्न नमिलेपछि टेण्डरमा गएको उनले बताए। उनले अस्पताल विकास समितिले यस अगाडि नै जनप्रियसँग सम्झौता गरेको भन्दै अहिलेलाई सम्झौता तोड्न नसकिने हुँदा दुबै फार्मेसी अस्पतालको कम्पाण्डभित्रै सञ्चालन गरिने उनले बताए।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.