भूकम्प घाइतेका लागि तीन सयले गरे रक्तदान
बुटवल, २ जेठ । प्राकृतिक विपत्तिको अवस्थामा रगतको अभाव हुन नदिने उद्देश्यका साथ बुटवलमा शनिबार बृहत्त रक्तदान गरिएको छ । विनासकारी महाभूकम्पमा परी घाईतेहरू लक्षित गरी आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ सय १६ जनाले रक्तदान गरेको आयोजक संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज र रुपन्देही व्यापार संघले बताएको छ ।
“रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो ।
रुपन्देहीका दुई दर्जनभन्दा बढी संघसंस्था सहआयोजक रहेको कार्यक्रममा स्वःस्फुर्त रुपमा रक्तदान गर्नेहरूको संख्या बढी रहेको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालमा सबैभन्दा बढी १ सय ४१ पटक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले बताए । उनले रगत अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ संघसंस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
]उनले पहिले रगत दिन डराउने गरेको भएपनि अहिले रगत दिनुपर्छ भन्ने बानीको विकास भएको बताए ।
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले ‘रगत नपाए बुटवल जानू’ भन्ने शन्देश सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
0 comments