संविधानका लागि उद्योगीको दवाव आवश्यक : बस्नेत
बुटवल, ५ वैशाख । उद्योगमन्त्री महेश बस्नेतले संविधान निर्माणका लागि उद्योगीहरूको दवाव आवश्यक रहेको बताएको छन् । उनले संविधान नबनेसम्म राजनीतिक स्थिरता नहुने र लगानीमैत्री वातावरण नबने भएकाले उद्योगी–व्यवसायीले दलहरूलाई संविधान निर्माणका लागि दबाव दिन आवश्यक रहेको बताएका हुन ।
देवदह व्यापार संघ रुपन्देहीको पहिलो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री बस्नेतले देशमा औद्योगिकिरण र उद्यमशिलताको विकासका लागि पाठ्यक्रममै औद्योगिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । औद्योगिक शिक्षाको अभावमा युवा शक्ति अध्ययन र वैदेशिक रोजगारका लागि विदेश जाने प्रवृत्ति बढेको मन्त्री उनले औंल्याए ।
मन्त्री बस्नेतले अबको औद्योगिक विकास विना आर्थिक समृद्धि र रोजगारीको अवसर हासिल हुन नसक्ने भएकाले माध्यमिक तहदेखि उच्च शिक्षा शिक्षासम्मको पाठ्यक्रममा औद्योगिक शिक्षालाई अनिवार्य गरिनुपर्ने आवश्यकता औंल्याए । ‘पाठ्यक्रममा जसरी नैतिक शिक्षा, शारीरिक शिक्षा, स्वास्थ्य शिक्षा समावेश छ, त्यसरी नै औद्योगिक शिक्षालाई पनि समावेश गरिनुपर्छ’ मन्त्री बस्नेतले भने, ‘औद्योगिक शिक्षाको अभावमा नै शिक्षित युवा उद्योग धन्दामा नलागी वैदेशिक रोजगारीमा जान वाध्य भएका हुन् ।’
मन्त्री बस्नेतले औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन लगायत एक दर्जन ऐन तथा स्वदेशी उत्पादनको प्रयोगलाई अनिवार्य गर्ने निर्र्दे्शिका छिट्टै आउन लागेको जानकारी समेत गराए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले देशमा प्राप्त उपलव्धीलाई संस्थागत गर्न राजनीतिक दलहरूले सहकार्य गर्नुपर्ने बताए । उनले नेपाललाई धेरै दिनसम्म अनिर्णयको बन्दि बनाउन नसकिने बताए । नेता विश्वकर्माले जनताका समस्या समाधान गर्न नेकपा एमाले प्रतिवद्ध रहेकोमा जोड दिए ।
त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य अब्दुल रज्जाकले देवदहलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए ।
सभासद रज्जाकले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिएमा देशमा आर्थिक क्षेत्रको विकास तीब्र गतिमा हुने दावी गरे । व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, नेकपा एमाले रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ, सैनामैना व्यापार संघका अध्यक्ष रामेश्वर पौडेल, देवदह उद्योग वाणिज्य संघका गोपालप्रसाद ढकाल, देवदह उद्योग व्यापार संगठनका गोविन्द भट्टराई, प्रकाश अर्याल, एमाओवादी देवदह अध्यक्ष कृष्ण ढकाल, नेपाल भारत मैत्री संघ पश्चिमाञ्चल उपाध्यक्ष बासुदेव रिमाल, देवदह आर्दश वहुमुखी क्याम्पसका अध्यक्ष धुव्र खरेल, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष मोति पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल लगायतले बोलेका थिए । संघका प्रथम उपाध्यक्ष ठाकुरप्रसाद गौतमको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव माधव ढकालले गरेका थिए ।
0 comments