लुम्बिनी अञ्चल अस्पतालमा आईसीयू सुरू नहुने संकेत


lumbini-final- विकाश पराजुली
रुपन्देही, १८ चैत ।  लुम्बिनी अञ्चल अस्पतालमा नयाँ बर्षबाट सुरू गर्ने भनिएको आईसीयू सेवा सञ्चालनमा अवरोध हुने संकेत देखिएको छ । 
लामो समयदेखि प्रतिक्षारत लुम्विनी अञ्चल अस्पतालको आइसीयू सेवा सञ्चालनमा आउने प्रक्रिया सुरु भएसँगै सञ्चालनमा अवरोध सिर्जना भएको हो । अस्पतालले आईसीयू सञ्चालनका लागि टेण्डर प्रक्रिया समेत गरिसकेको छ । प्रक्रिया अगाडि बढ्दा त्यहाँ कार्यरत कर्मचारी संगठन कर्मचारी युनियले विभिन्न माग राख्दै आईसीयू सेवा अवरोध गरेको छ । 
युनियनले विभिन्न माग राखेर पहिले आफ्नो माग सम्बोधन गरेरर मात्रै आईसीयू सञ्चालन गर्नुपर्ने भन्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । यसले गर्दा आईसीयू सञ्चालनमा अवरोध हुने संकेत देखिएको हो । कर्मचारी युनियनले आईसीयू सञ्चालन हुनुभन्दा पहिले आफ्नो सेवासुविधामा वृद्धि गरिनुपर्ने, जागिरको ग्यारेन्टी हुनुपर्ने भन्दै आईसीयूू सञ्चालनको प्रक्रिया प्रभावित पार्न खोजेका हुन् । अस्पतालमा करार, स्थायी र अस्थायी गरी तीन किसिमका कर्मचारीहरु रहेका छन् । स्थायीभन्दा अस्थायी र करारमा रहेका कर्मचारीहरु धेरै छन् । 
कर्मचारी युनियनका अध्यक्ष भगिरथ रानाले आईसीयू दिर्घकालिन तरिकाले सञ्चालन होस भन्ने उद्देश्यले मात्रै आफ्नो संगठनले ज्ञापनपत्र बुझाएको बताए ।  अस्पतालको व्ययभारबाट आईसीयू सञ्चालन हुन नसक्ने भएकाले सरकारबाट दरवन्दी स्वीकृतीपछि मात्रै सञ्चालन गर्नुपर्ने उनले बताए ।
 अस्पतालका मेडिकल सुपरिटेण्डेन तारानाथ पौडेलले कर्मचारी युनियनको माग पनि सकारात्मक रहेको भन्दै सो मागकै कारण आईसीयू सञ्चालन प्रक्रिया नरोकिने बताए । युनियनको माग र आईसीयूू सञ्चालन प्रक्रियालाई सँगसँगै लैजान सकिने उनले बताए । युनियनले आफ्नो माग सम्बोधन गरेर मात्रै आईसीयू सञ्चालन गर्नु पर्ने भन्दै ज्ञापन बुझाएको बताउँदै उनले केही सम्बोधन गर्न सकिने मागलाई सम्बोधन गरिने र सम्बोधन गर्न नसकिने मागलाई उपसमिति बनाएर अगाडि बढ्न सकिने बताए । 
अस्पताल बिकास समितिका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठले  कर्मचारीका मागप्रति विकास समति सकारात्मक रहेको भन्दै पहिले आईसीयू सञ्चालन हुन दिनुपर्ने बताए । आईसीयू सञ्चालन भएमा नमुना काम हुने भन्दै उनले यो नमुना कामको श्रेय कर्मचारीहरुलाई नै जाने बताए । 

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.