रुपन्देहीमा चार पत्रकार पुरस्कृत
बुटवल, २१ चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीले उत्कृष्ट र विकास पत्रकारिता पुरस्कार वितरण गरेको छ । शनिबार एक समारोहको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७० बाट पत्रकार हरिस ढकाललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी १५ हजार रुपियाँ सहित प्रमाणपत्र रहेको छ ।
यस्तै प्रकाश स्मृती विकास पत्रकारीता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरिएको छ । विकास पत्रकारीता पुरस्कार २०६६ बाट अन्नपूर्ण पोष्टका पत्रकार महेन्द्र थापा, २०६७ बाट नयाँ पत्रिका दैनिकका पत्रकार विष्णु घिमिरे र २०६९ बाट कान्तिपुर दैनिकका पत्रकार अमृता अनमोल पुरस्कृत भएका छन् । विकास पत्रकारिता पुरस्कारको राशी नगद १० हजार सहित प्रमाणपत्र रहेको छ ।
उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिका र प्रकाश स्मृती विकास पत्रकारीता पुरस्कार उद्योग श्याम पाठकले स्थापना गरेका हुन् । पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, बुटवल उपमहानगरपालिकाका प्रमुख धु्रवबहादुर खड्का र प्रविण पाठकले संयुक्त रुपमा प्रदान गरेका हुन् । सो अवसरमा अध्यक्ष विष्टले २०७२ साल श्रमजीवी पत्रकारको अधिकार वर्षको रुपमा मनाउने जानकारी दिए । उनले श्रमजीवी पत्रकार ऐन २०५१ लागु भएको २० वर्ष हुँदा पनि २० प्रतिशत कार्यान्वयन नभएको बताए ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब) का अध्यक्ष मोहन चापागाई, बुटवल उपमहानगरपालिकाका कार्यालय प्रमुख धु्रवबहादुर खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाई, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलगायतले बोल्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षामा एक जुट भएर लाग्नुपर्ने बताए ।
0 comments