लुम्बिनीमा मोदी भ्रमणको तयारी तीव्र
विकाश पराजुली
बुटवल, कार्तिक २१ । मंसिरमा काठमाडौमा हुन लागेको सार्क सम्मेलको अवसरमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसै क्रममा लुम्बिनीको भ्रमण गर्ने भएपछि अहिले त्यसको तयारी अगाडि बढाइएको छ । लुम्बिनी क्षेत्रमा सरसफाई कार्यलाई तीव्रता दिइएको छ । यसैगरी खाल्डाखुल्डी सडकलाई टालटुल गर्ने काम पनि भैरहेको छ ।
मोदीले लुम्बिनीको भ्रमण गर्ने लगभग पक्कापक्की जस्तै भएकाले त्यसको तयारी गरिएको लुम्बिनी विकास कोषका सदस्य सुवर्ण शाक्यले जानकारी दिए । अहिले माया देवि मन्दिर परिसरमा पेन्टीङको काम भइरहेको छ । भ्रमणको सन्दर्भमा लुम्बिनी विकास कोष, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय लगायत संयुक्त टोलीको बैठक नियमित जस्तै बस्दै आएको छ । बैठकमा मोदीको सुरक्षा तथा उनको भ्रमणलाई कसरी सफल बनाउने भन्ने बिषयमा छलफल हुने गरेको छ । भ्रमणका क्रममा मोदीले मायादेवि मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम रहेको छ ।
मोदीको कार्यतालिमा लुम्बिनीको मायादेवी मन्दिर अवलोकन गरेर दिल्ली फकिर्ने छ । मोदी पर्सा चौराहुदै मायादेवी मन्दिरमा प्रवेश गर्नेछन् । नेपाल सरकारले मोदीको स्वागत जनकपुरमा गर्नेछ भने बिदाइ लुम्बिनीबाट गर्नेछ । कोषका सदस्य शाक्यका अनुसार मोदीले लुम्बिनीमा ५ हजार स्थानीयवासीलाई सम्वोधन गर्ने भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले मोदी लुम्बिनी आउने सम्भावना बढेर गएकाले आफूहरु त्यसको तयारीमा लागेको जानकारी दिए । ‘आउने/नआउने औपचारिक सूचना केही प्राप्त छैन् तर हामी तयारीमा लागेका छौ’ उनले भने ।
मोदी भ्रमणकै सन्दर्भमा केही दिनयता लुम्बिनी क्षेत्रमा भारतीय सुरक्षाअधिकारी एवं दूतावासका अधिकारीले पनि अवलोकन गरिसकेका छन् । त्यस्तै सरकारी टोलीले पनि लुम्बिनीको अवस्था बारे जानकारी लिइसकेको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार मोदीको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीसहित भारतीय सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । मोदी आउने चर्चासगै लुम्बिनी अञ्चलका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उच्च सतर्कता अपनाइएको स्रोतले जानकारी दियो । मोदीसं“गै अन्य देशका राष्ट्र प्रमुखहरु समेत आउने भएपछि सुरक्षा सतर्कता पहिलेदेखिनै बढाइएको हो ।
स्रोतले दिएको जानकारी अनुसार लुम्बिनी भ्रमण क्रममा मोदीलाई चार घेराबाट सुरक्षा दिईने छ । पहिलो घेरामा मोदीका सुरक्षाकर्मी रहने छन् भने दोस्रो घेरामा नेपाली सेना, तेस्रो घेरामा सस्शत्र प्रहरी र अन्तिम घेरामा चरणमा जनपद प्रहरी खटिनेछन् । सार्क सम्मेलनमा भाग लिन आएका बेला भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक र श्रीलंकाका प्रधानमन्त्री डीएम जयरत्नेले पनि लुम्बिनीको भ्रमण्ँ गर्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।
0 comments