लुम्बिनीमा दसैँ लक्षित सुरक्षा योजना



 विकाश पराजुली

रूपन्देही, १ असोज । लुम्बिनी अञ्चलमा अञ्चल प्रहरी कार्यालय भैरहवाले दसैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयन गर्ने तयारी गरेको छ ।

अञ्चल प्रहरी कार्यालय भैरहवाले असोज १ गते देखि लागू हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको बताएको छ ।

अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रमुख मिङमार लामाले ६ जिल्लाबाट आएका सुरक्षा योजनाहरूको विश्लेषण गरेर सुरक्षा योजना कार्यान्वयन गरिने बताए ।

विभिन्न जिल्लाबाट आएका अलग अलत सुरक्षा योजनालाई समष्टिगत बनाई सुरक्षा योजनाको मुख्य कार्यान्वयनको रूप दिइने छ ।

प्रहरीले अतिसंवेदशिल, संवेदनशिल र सामान्य स्थानको पहिचान गरी सुरक्षा परिचालन गर्ने रणनिति बनाएको छ । अतिसंवेदनशिल र संवेदनशिल क्षेत्रमा सादा पोशाकका प्रहरीको उपस्थिति बढाइने छ भने चौविसै घण्टा भरपर्दो सुरक्षा प्रदान गरिने छ ।

प्रहरीले नागरिकहरूको बढि चाप हुने क्षेत्रमा पनि विशेष निगरानीसहित सुरक्षा व्यवस्था परिचालन गरिने बताइएको छ ।

छिमेकी देश भारतबाट सुनौली नाका हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरूलाई गोरखपुरबाटै सुरक्षाको प्रत्याभुति गराउने समेत लामाले बताए । ‘‘नागरिकहरूले दुःख नपाउने भनेर विशेष सुरक्षा योजना ल्याएका छौ,’ लामाले भने, ‘लुटपाट, चोरी डकैटि केही हुने छैन ।’

प्रहरीले यात्रु सुरक्षालाई मध्यनजर राख्दै राजमार्गमा चल्ने दिवा तथा रात्री सेवाका गाडिहरूलाई निगरानीमा राख्ने समेत बताएको छ । छिमेकी जिल्लासँग समन्वयन गरी यात्रुहरूलाई निश्चित गन्तव्य सम्म पुर्‍याईने उनले बताए ।

यता रूपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले सुरक्षा योजना तयार भइसकेको बताए । ‘हामीले मातहतका युनिटलाई सुरक्षा सर्तकता बढाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘बेलहिया हुँदै भारतबाट नेपाल फर्किने नेपालीहरूको सुरक्षालाई विशेष ध्यान दिएका छौं ।’

त्यस्तै यात्रुहरूलाई लक्षित गर्दै प्रहरीले गाडिबाट गस्ती गर्ने, ठाउँठाउँमा आकस्मिक चेकजाच गर्ने, हेल्प डेक्स स्थापना गर्नेलगायत योजना बनाएको ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय अर्घाखाची, जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय नवलपरासी र जिल्ला प्रहरी कार्यालय कपिलबस्तुसँग सहकार्य गरेर अञ्चलमा सुरक्षा योजनालाई कार्यान्वयन गर्न निर्देशन दिइएको बताइएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.