रुपन्देहीमा अबैध ढुंगा गिटी उत्खनन्

 

दुई दिनमा १० टेक्टर नियन्त्रणमा

 विकाश पराजुली


बुटवल, भदौ ५ । लामो समयदेखि रुपन्देही जिल्लामा रोकिएको नदीजन्य पदार्थ रातारात अबैध रुपमा उत्खनन् भइरहेको खुलेको छ । जिल्लाको तिनाउ नदी तथा यस आसपासका क्षेत्रबाट अबैध रुपमा ढुंगा गिटी उत्खनन् भइरहेको अवस्थामा प्रहरीले ठूलो संख्यामा टेक्टर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
खोलाबाट निर्माण सामग्रीका रुपमा ढुंगा, बालुवा र गिटी झिक्ने क्रम बढेको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाको टोलीले अबैध रुपमा ढुंगा, गिटी, बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा मंगलबार र विहीबार गरी १० टेक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार राति खोलामा उत्खनन् गरिरहेको अवस्थामा तिलोत्तमा नगरपालिका १० बाट ३ वटा टेक्टर नियन्त्रणमा लिएको छ भने तिनाउ पारीको पिपल चौतारीबाट ४ वटा टेक्टर नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । मंगलबार नियन्त्रणमा लिइएका दुई टेक्टरहरुले फरक–फरक नम्बर प्लेट राखी अबैध रुपमा ढुंगा गिटी उत्खनन् गरिरहेको  समेत भेटिएको बताइएको छ । यसरी फरक नम्बर प्लेट राखी सञ्चालन भएका टेक्टरहरु लामो समयदेखि अबैध उत्खनन्मा संलग्न भएको हुन सक्ने प्रहरीको दावी छ । मंगलवार नियन्त्रणमा लिइएका टेक्टरहरु मध्ये लु १ त ८११० नम्बरको टेक्टरले ट्रलीमा ५९७१ नम्बर राखेको र लु २ त ५९५८ नम्बरको टेक्टरले ट्रलीमा ७६२३ राखी अबैध रुपमा ढुंगा गिटी उत्खनन् गरिराखेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाले जानकारी दिए । सो क्षेत्रबाट रातको समयमा टेक्टरहरुले लोड गरी अबैध रुपमा ढुंगा गिटीको उत्खनन् गर्ने गरेको सो क्षेत्रका स्थानियहरु समेत बताउ“छन् ।
त्यस्तै प्रहरीले लु २ त ८८१०, लु २ त ९७९९, लु २ त २६४७, लु २ त ७८४४, लु २ त ७६२३, नम्बरको टेक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको छ । घटनामा संलग्न चालकहरु विष्णु रिमाल, मनोज पौडेल, दिवाकर ढकाल, रामकिसन कुमाल, विनोद कुमाल, जगदिश थारु र कृष्ण चौधरीलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको छ ।त्यस्तै प्रहरीले विहीबार विहान सेमलारको कृष्णगञ्जबाट ३ वटा टेक्टरलाई नियन्त्रणमा लिएको बताएको छ । अबैध रुपमा ढुंगा, गिटी उत्खनन् गर्न लागेको अवस्थामा प्रहरीले लु २ त ८२१५, लु २ त ८२१४ र लु २ त ६१३ नम्बरको टेक्टरलाई नियन्त्रणमा लिएको हो । यसरी लैजाने गरेको अबैध ढुंगा, गिटी व्यवसायीहरुले आफ्नो खेत, बारीमा डम्पिङ गरेर राख्ने गरेको प्रहरीले बताएको छ । खास गरी यस्तो कार्य हरैयापुरमा भइरहेको समेत स्रोतले बताएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.