पश्चिमाञ्चलमा प्रहरीको आरक्षण सिट अभियान सुरू
रूपन्देही, ८ चैत । सार्वजनिक यातायातमा हुने आरक्षण सिट कार्यान्वयन गर्न प्रहरीले अभियाननै सञ्चालन गरी कार्य सुरू गरेको छ ।
यस क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीमा चल्ने कुनै पनि सवारी साधनमा आरक्षण सिट कार्यान्वयन नभएपछि यसको चौतर्फी रूपमा आलोचना भएको थियो । प्रहरीले यसलाई अभियानकै रूपमा लिई आरक्षण सिट कार्यान्वयनमा विहिबारदेखि पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले अग्रसर देखाएको हो ।
ट्राफिक प्रहरी कार्यालय सवारी दुर्घटना न्यूनिकरण अभियानअन्तर्गत उपलब्धिको १२ औं नम्बरमा आरक्षण सिट सम्बन्धी कारबाही नाम उल्लेख गरी सिट कार्यान्वयनमा तदारुकता देखाएको हो ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी हरिराज वाग्लेले सम्बन्धित समित संग सहकार्य गरी अभियान सुरु गरेको बताए । उनले पहिलो चरणमा बसपार्कमै पुगी आरक्षण सिटमा आरक्षित व्यक्तिहरू बसे नबसेको हेरिएको र त्यस संग सम्बन्धीत सचेतना समेत जगाएको बताए ।
महिला, बृद्ध बृद्धा, अपाङगता भएका व्यक्तिहरूलाई सवारी साधनमा आरक्षण सिट राख्ने गरिन्छ ।
महिला, बृद्ध बृद्धा, अपाङगता भएका व्यक्तिहरूलाई सवारी साधनमा आरक्षण सिट राख्ने गरिन्छ ।
काठमाण्डौमा चल्ने सवारी साधनमा आरक्षण सिट कार्यान्वयन भए पनि यस क्षेत्रमा बल अभियान मात्र सञ्चालनमा आएको छ । आरक्षणमा बस्ने यात्रुले केही नबोल्दा पनि यसको कार्यान्वयनमा ढिला भएको प्रहरी बताउँछ । “आफ्नो सिटमा आफै जानेर बस्ने हो तर, बोल्न डराउदा आरक्षण सिटमा अर्कै बस्ने गरेको भेटियो” एसपी वाग्लेले भने, “अझै पनि यात्रुमा आरक्षण सिटका बारेमा जानकारी नभएको समेत पाईयो ।”
अहिले प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आरक्षण सिटमा यात्रुलाई राख्ने मुख्य जिम्मेवारी सह चालकको हुने हुँदा चालक तथा सहचालकलाई संगै राखी प्रशिक्षण समेत दिइएको उनको भनाई छ ।
आरक्षण सिट कार्यान्वयन नहुँदा महिलाको आरक्षण सिटमा पुरुषले बसेर यात्रा गर्दा समेत महिलाहरू टुलुटुलु हेर्दै उठेरै गन्तव्यसम्म बाध्य भएका छन् । बसिसकेकालाई उठ भन्न ग्राहो लाग्ने भएकाले उभिएरै गन्तव्यसम्म जाने गरेको देविनगरबाट गोलपार्कका लागि माईक्रो चढेकी उषा ज्ञवालीले बताईन् । बसका सह चालकले यात्रु चढाउने र झराल्नेमानै व्यस्त हुने हुँदा आरक्षण सिटमा को छ भन्ने कुनै हेक्का नराख्ने गरेको उनको भनाई छ ।
यता पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले यो अभियानले सार्थकता पाउन आफूहरूले सक्दो सहयोग गर्ने बताए । उनले लामो दूरीको हकमा पूर्णतया कार्यान्वयन भएको भन्दै छोटो दूरीमा पनि यसको कार्यान्वयन छिटो हुने प्रष्ट पारे ।
आरक्षण सिट कार्यान्वयनपछि महिला मात्र हैन, बृद्धबृद्धा र विशेषतः अपाङगता भएका व्यक्तिहरूलाई सजिलो हुनेछ ।
0 comments