चोरिएको शिशु अझै भेटिएन
बुटवल, माघ १२ ।
लुम्बिनी अञ्चल अस्पतालबाट आठ दिनको एक शिशु चोरी भएको १२ दिन वितिसक्दा पनि अझै भेटिएको छैन । कपिलवस्तु जिल्लाको विरपुर गाविस–६, वुदखटेवाकी ३२ वर्षीया राममती हरिजनले जन्माएको आठ दिनको छोरा अस्पतालको बेडबाटै माघ १ गते सा“झ चोरी भएको थियो । विहे भएको १७ बर्ष पछि पहिलो सन्तानको रुपमा छोरा जन्मिएपछि हरिजनको परिवारमा छाएको खुसी आठ दिनमा नै बज्रपात भएपछि हरिजन परिवारका आ“खामा अझै आशु सुकेको छैन । ‘छोरा भेटिने आश अझै छ ।’ राममति हरिजनले मेचीकालीलाई टेलिफोनमा भनिन्–‘छोराको पिरले आधा ज्यान सुकिसक्यो ।’ उनले अपरिचित महिलालाई बच्चा छोडिदिनुनै गल्ती भएको बताइन् । ‘प्रहरी दाजुहरुले खोजि गर्नुभएको छ, छोरा भेटिन्छ कि भन्ने आश अझै मरेको छैन ।’ श्रीमान परमात्माले भने–‘हामीले पनि आफ्नो तरिकाले बच्चाको खोजि गरिरहेका छौं । तर बच्चा भेटिएको छैन ।’
हरिजनले पुस २२ गते लुम्बिनी अञ्चल अस्पतालमा शल्यक्रिया गराई उक्त बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरेको घाऊ सफा गर्न र टा“का खोल्न हरिजन दम्पती अस्पतालमा आएको थियो ।
बेडको नजिकै उभिएकी एक अपरिचित महिलाले बच्चा एकछिन मैले समातिदिन्छु भन्दै लिए लगत्तै बच्चा गायब भएको थियो ।
अस्पताल क्षेत्रबाटै शिशु हराएपनि अहिले अस्पतालले बच्चाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । अस्पतालबाटै बच्चा चोरी भएको घटना पछि प्रहरीले खोजीकार्य जारी राखेको बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाका सम्बन्धमा शुक्ष्म अनुसन्धान गरिरहेको डिएसपी दिनेश कुमार आचार्यले बताए । अस्पताल परिसर र नजिकका गाउ“ तथा सम्भावित स्थानहरुमा खोजि कार्य भइरहेको उनले जानकारी दिए । हरिजन दम्पतीको बच्चा हराएपछि अर्को बच्चा भेटिएको खवर आएपनि त्यो बच्चा हरिजनको नभएको प्रमाणित भएपछि सोही व्यक्तिलाई नै फिर्ता दिइएको बताइएको छ ।
प्रहरीले निरीक्षक सोम थापाको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेर खोजिकार्य गरेको बताएको छ । प्रहरीले कपिलबस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न स्थानहरुमा बच्चाको खोजि गरेको बताएको छ ।
0 comments